(१) प्राधिकरणले देहायका अधिकार प्रयोग गरी आफ्नोे कार्य सञ्चालन गर्न आवश्यक पर्ने आर्थिक स्रोत जुटाउन सक्नेछ ः–
(क) स्वदेशी संघ, संस्था, बैंक वा व्यक्तिबाट ऋण तथा अनुदान लिने,
(ख) नेपाल सरकारको स्वीकृति लिई विदेशी सरकार र विदेशी वा अन्तर्राष्ट्रिय संघ, संस्थाबाट ऋण तथा अनुदान लिने,
(ग) प्राधिकरणको कोषमा रहेको रकम लगानी गर्ने,
(घ) प्राधिकरणको स्वामित्वमा रहेको वायुयानलाई आय आर्जन गर्ने गरी सीमित मात्रामा उडान गर्ने,
(ङ) प्राधिकरणको स्वामित्वमा रहेका विमानस्थल तथा विमानस्थल क्षेत्रमा वायुयान अवतरण (लैण्डिङ्ग), गृह आश्रय (हाउसिङ्ग), भूमिस्थ प्रबन्ध सुविधा (ग्राउण्ड हायड्लिङ्ग), विसान (पार्किङ्ग) गरेमा वा अन्य सवारी साधन विसान (पार्किङ्ग), गरेमा तोकिए बमोजिमको शुल्क असुल गर्ने,
(च) नेपालको भू–भागमाथि कुनै वायुयानले उडान (ओभर फ्लाई) गरेमा तोकिए बमोजिमको शुल्क असुल गर्ने,
(छ) नेपालको हवाई सीमा क्षेत्रभित्र उडान गर्ने वायुयानले सञ्चार तथा उड्डयन सहाय उपकरण सुविधा उपभोग गरे वापत तोकिए बमोजिमको शुल्क असुल गर्ने,
(ज) विदेशबाट वायुयानद्वारा नेपाल मा आयात हुने मालसामान ढुवानीमा तोकिए बमोजिमको मालसामान (कार्गो) शुल्क असुल गर्ने,
(झ) हवाई यात्रुहरूलाई आवश्यक स्तरीय यात्रु सेवा सुविधा उपलब्ध गराए वापत तोकिए बमोजिमको यात्रु सेवा सुविधा शुल्क असुल गर्ने,
(ञ) वायुयान सेवा सञ्चालनसंग सम्बन्धित विषयहरूमा अनुमति, कार्य क्षमताको स्तरीकरण (रेटिङ्ग), तथा प्रमाणपत्र प्रदान गर्दा, नवीकरण गर्दा र सो को लागि परीक्षा सञ्चालन गर्दा तोकिए बमोजिम शुल्क असुल गर्ने,
(ट) प्राधिकरणको स्वामित्वमा रहेका विमानस्थलको टर्मिनल भवनभित्र प्रवेश गर्ने आगन्तुकहरूसंग तोकिए बमोजिमको प्रवेश शुल्क असुल गर्ने,
(ठ) वायुयान, हवाई यात्रु र निजहरूका सम्पत्ति, मालसामानहरूको उद्धार तथा सुरक्षाको लागि अग्नि निवारण तथा जीवनोद्धार सेवा उपलब्ध गराए वापत तोकिए बमोजिमको शुल्क असुल गर्ने,
(ड) विमानस्थल तथा विमानस्थल क्षेत्रभित्र हवाई इन्धन विक्री, कर मुक्त पसल, उडानमा रहेका यात्रुहरूलाई खाना उपलब्ध गराउने सेवा (फ्लाइट क्याटरिङ्ग), मालसामान प्रबन्ध (कार्गो हैण्डलिङ्ग) सेवा, यात्रु परिवहन (लिमोजिन) सेवा, भूमिस्थ प्रबन्ध (ग्राउण्ड ह्याण्डलिङ्ग) सेवा लगायत तोकिए बमोजिमका अन्य व्यापार व्यवसाय सञ्चालन गर्नेहरूसंग तोकिए बमोजिम भाडा तथा शुल्क असुल गर्ने,
(ढ) विमानस्थल तथा विमानस्थल क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने तथा विज्ञापन प्रचार प्रसार गर्नेहरूसंग तोकिए बमोजिम भाडा तथा शुल्क असुल उपर गर्ने,
(ण) विमानस्थल तथा विमानस्थल क्षेत्रभित्र विजुली, खानेपानी, टेलिफोन, टेलेक्स, फ्याक्स आदि सुविधा उपलब्ध गराए वापत तोकिए बमोजिम शुल्क असुल गर्ने,
(त) निर्धारित समय भन्दा बढी समय विमानस्थल तथा विमानस्थल क्षेत्र खुला राखे वापत तोकिए बमोजिम अतिरिक्त शुल्क असुल गर्ने,
(थ) तोकिए बमोजिमका अन्य सेवाहरू उपलब्ध गराए वापत भाडा तथा शुल्क असुल गर्ने ।
(२) उपदफा (१) बमोजिम बुझाउनु पर्ने भाडा तथा शुल्क तोकिएको म्यादभित्र नबुझाउनेको हकमा तोकिए बमोजिम थप भाडा शुल्क असुल गर्न सकिनेछ ।